जमुना घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) मा महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरूदण्डका रूपमा स्थापित गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएकी छिन्।
काठमाडौंको होटल र्या डिसनमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूले उम्मेदवारी दिनुका ११ कारण प्रस्तुत गरेकी छिन्।
उनले एनआरएनले निर्माण गरिरहेका मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गर्ने बताएकी छिन्। साथै, ‘भिजन २०२० एन्ड बियोन्ड’लाई सफल कार्यान्वयन गर्ने बताएकी छिन्। ‘भिजन २०२० एन्ड बियोन्ड’ जमुनाका पति एवं एनआरएनका वर्तमान महासचिव शेष घलेले एक वर्षअघि घोषणा गरेको विवादित योजना हो।
लम्जुङमा जन्मिएकी गुरुङ पति शेष घलेसँगै उच्च शिक्षाका लागि सन् १९९१ मा अस्ट्रेलिया गएकी थिइन्। अस्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बिआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा आठौं नम्बरमा राखेको थियो।
पति शेष घलेसँगको साझेदारीमा उनले मेलवर्नमा ‘मेलवर्न इन्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’ कलेज सञ्चालन गरिरहेकी छिन्। उनी त्यसको प्रबन्धक हुन्। कलेजको स्थापनासँगै उनीहरुको सम्वृद्धि यात्रा अघि बढेको हो।
जमुनाको सम्पत्तिको महत्वपूर्ण हिस्सा यही कलेजको आम्दानी रहेको म्यागेजिनले बताएको थियो। जमुना एमआईटी ग्रुप होल्डिङ्स मार्फत् काठमाडौंमा निर्माण सुरु भएको ‘सेराटन काठमाडौं होटल’की मुख्य साझेदार पनि हुन्।
नेपालमा शिक्षा र स्वास्थ्यमा परोपकारी काम गर्ने लक्ष्यसहित घले दम्पत्तिले २०७१ पुसमा नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा गरेका थिए।
घलेले आफ्नो उम्मेदवारीलाई संकीर्ण आँखाले नहेरिदिन आग्रह गरेकी छिन्। ‘व्यवसाय वा समाजसेवामा म जहिल्यै पनि आफ्नै पहिचानमा उभिन रूचाएँ र अहिलेसम्म पनि त्यही गरिरहेको छु’, घलेले भनेकी छिन्, ‘मेरो उम्मेदवारीलाई संकीर्ण आँखाले नहेरी, एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रूपमा हेरिदिनुहुन अनुरोध गर्छु।’