आसन्न उत्तर अमेरिका क्षेत्रीय विज्ञ भेलालाई नेपालमा गर्न लागिएको विश्व विज्ञ भेलाको पूर्वतयारीको रुपमा लिइएको एनआरएनए आइसिसीले जनाएको छ । आउँदो अक्टोवर १२ र १३ मा एनआरएनए आइसिसीले नेपालमा विश्व विज्ञ भेला गर्न लागेको छ ।
विश्व विज्ञ भेला अघि विभिन्न क्षेत्रमा गरिने विज्ञ भेला अन्तरगत पहिलो उत्तर अमेरिका क्षेत्रवाट गर्न लागिएको गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का अमेरिकाज संयोजक गौरी जोशीले बताउँछन् ।
राष्ट्रिय समन्वय परिषद् अमेरिकाको स्थानीय व्यवस्थापनमा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा आउँदो जुन १६ र १७ मा विज्ञ भेला हुँदैछ । सो भेलाको समेत तयारी पुरा भएको जनाइएको छ । भेलामा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, रेवतीप्रसाद भुषाल लगायतले सम्वोधन गर्ने आइसिसीका प्रवक्ता भुषण घिमिरेले प्रेस विज्ञप्ती मार्फत जनाएनुभका छन् ।
आइसिसीका उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी राज जोशीको संयोजकत्वमा हुने विज्ञ भेलामा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष एवं संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा लगायतको उपस्थिति रहने विज्ञप्तीमा जनाइएको छ ।
अमेरिकामा क्षेत्रमा बस्ने नेपालीहरुलाई सहभागी गराएर पहिलोपटक गर्न लागिएको भेलामा उत्तर अमेरिका क्षेत्रमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, प्राध्यापक, समाजसेवी, विद्यार्थी व्यवसायीहरुको सहभागिता रहनेछ । सम्मेलनमा नेपालको विकासका सम्भावना र चुनौतीका विषयमा छलफल हुने बताइएको छ ।
नेपालको विकास र सम्वृद्दिमा एनआरएनएलाई कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले गर्न लागिएको कार्यक्रममा विषयगत रुपमा छलफल हुने र त्यसलाई समेटेर सानफ्रान्सिस्को घोषणा पत्र जारी गरी नेपालमा हुने विज्ञ सम्मेलनमा समेत थप छलफल गरेर नितिगत तहमा लैजान पहल गरिने विज्ञप्तीमा उल्लेख छ । यस्तै, विज्ञ भेलाको आन्तरिक रुपमा सबैं तयारी सकिएको र अतिथिहरुलाई स्वागत गर्न आफुहरु तयार रहेको विज्ञ भेला संयोजक डिल्ली भट्टराईले बताए ।