गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट क्यानाडा जाने भएका छन् । भट्ट क्यानाडा आएकै मौका पारेर एनआएएनए क्यानाडाले अन्तर्कृया कार्यक्रम गर्ने तय गरेको छ । उनी लाइन्स क्लब इन्टरनेसनल अधिबेशनमा टोरोन्टो जान लागेका हुन् ।
‘एनआएएनए अध्यक्ष क्यानाडा आउनुभएको बेला यहाँ रहेका नेपाली समुदाय बिच गैर आवासिय नेपालीका एजेन्डाहरुमा छलफल गराउने प्रयास स्वरुप यो कार्यक्रम गर्न लागिएको हो’ कार्यक्रम संयोजक अभिमन्यू बस्नेतले बताए । उनले भने ‘यो हामी क्यानाडामा रहेका नेपालीहरुका लागि महत्वपूर्ण अबसर हो सबैजना कार्यक्रममा सहभागी भएर संघ अध्यक्षसँग आफ्ना जिज्ञासा, गुनासो र सुझाव राखौँ ।’
कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउने रोटरी क्लबका सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । एनआरएनए आईसिसी सदस्यहरु, एनआरएन क्यानाडाका अध्यक्ष लगायतको टिम, जिटिएमा रहेका नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको आफ्ना बिषय प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।
भवन भट्टसंगको अन्तर्कृया कार्यक्रम आउँदो शनिबार बिहान १०ः३० बजे टोरोन्टोस्थित काठमाडौँ रेष्टुरेन्टमा हुनेछ । उनी निर्वाचित भएपछीको यो पहिलो क्यानाडा भ्रमण हो । अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा रहेका भट्ट चीनबाट सिधै क्यानाडा आउन लागेका हुन् ।