आगामी मे १८ र १९ मा तय भै सकेको एनआरएन एनसीसी युएसएको चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न माग गर्दै अदालतमा मुद्धा दायर भएको छ ।
बाल्टिमोर निवासी तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्वउपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् ।
एनआरएन अभियान तथा सामाजिक सेवामा अनुभव बटुलेकी रविना थापा सन् २०१७ -२०१९ को लागि अध्यक्षकी उम्मेदवार थिइन् । रबिना थापा तथा नारायण थापा पतिपत्नी हुन् भने यो मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।
बिश्व बराल, भुवन गुरुङ, अन्जन श्रेष्ठ, गौरी जोशी, अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ कि निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाइएको छ ।
अमेरिकाको टेनेसीको नक्स काउन्टी चान्सलरी कोर्टमा गत अप्रिल २६ का दिन दायर मुद्धा संख्या १९६०८१-३ रहेको छ । मुद्धा थापा दम्पतिका तर्फबाट ग्रेगरी ब्राउन र रथ एसम्यानले दर्ता गरेका हुन् ।
एनआरएनको चुनाव रोक्नु पर्ने, एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउन र नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत न्यायालयमा अनुरोध गरेका छन् ।
संस्थाका महासचिव बिआर लामाले सम्पूर्ण सदस्यहरुलाई बिद्युतिय डाकद्वारा जानकारी गराएका थिए । मुद्धाको विवरण ५० पृष्ठ को रहेको छ । एनआरएन अमेरिकाले स्थापनाकाल देखि नै मुद्धा खेप्दै आइरहेको छ ।
विवाद र झगडामा अल्झिएको कारण बिश्व कै सर्वाधिक भएको एनआरएन अमेरिकालाई अस्ट्रेलियाले सदस्य संख्यामा उछिनेको छ । अब बिश्व कै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय समिति अस्ट्रेलिया भएको छ ।
आसन्न निर्वाचनको लागि उम्मेदारहरुका बहस, उम्मेद्वारहरु व्यापक प्रचार प्रसारमा लागि रहेको अवस्थामा निर्वाचन स्थगन गरियोस भनि न्यायालयमा मुद्धा दायर भएकोले अन्यौलको स्थिति छाएको छ ।