अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकहरूले भिजिट नेपाल २०२० को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैर आवासीय नेपालीहरूको नेपालसँगको भावनात्मक संबन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को गर्दै अाएका उनीहरूले यसाे गरेका हुन् ।
पछिल्ला वर्षहरूमा विश्वका विभिन्न राष्ट्रहरूमा गैर आवासीय नेपाली संघ अन्तरगत संगठित भई उनीहरूले विभिन्न अभियान तथा कार्यक्रमहरू संचालन गर्दै आइरहेका छन् ।
यसै सिलसिलामा जुलाई २१, २०१९ का दिन आयोजित गैर आवासीय नेपाली संघ अमेरिका मेरिल्याण्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले नेपाली मूलका स्टेट डेलिगेट ह्यारी भण्डारी र महावाणिज्य दूत प्रेमराजा महतको हातबाट “आफू पनि नेपाल जाऔँ, अरुलाई पनि नेपाल पठाऔँ” भन्ने नारा सहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गराउँदै उक्त अभियानको विधिवत शुरुआत गरेका हुन् ।
च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई भिजिट नेपाल २०२० अभियानको लागि संयोजक चयन गरेको छ ।