गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । दुई वर्षे कार्यकाल सकिन केही समय मात्रै बाँकी रहँदा अध्यक्ष भट्टले दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो ।
आगामी कार्यकालका लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्नेबारे एनआरएनभित्र बहस भइरहेको बेला भट्ट आफैले यो घोषणा गर्नुभएको हो । गएराति नेपाली समयअनुसार ठीक १२ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत एक विशेष सम्बोधन गर्दै भट्टले अबको नयाँ नेतृत्व संस्थालाई गति दिनसक्ने बलियो होस भन्ने आफ्नो चाहना रहेको भन्दै उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । २००३ मा एनआएनएको सदस्य लिनुभएका भट्ट २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
अध्यक्ष भट्टले आफू एनआएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि मात्रै हटेको बताउनु भएको छ । ‘म चुनाव मात्रै नलड्न लागेको हुँ, एनआएनबाट रिटायर्ड भएको होइन, बरु झन् सक्रिय भएर लाग्नेछु, म चालकको सिटबाट पछडि सरेको मात्रै हो । बसबाट निस्केको छैन,’ भट्टले भन्नुभयो । उहाँले नेतृत्वमा नरहेपनि एनआरएनसँग सम्बन्धित मामलामा आफू सँधै सँगै साथमा रहने बताउनु भयो । हरेक सदस्यसँग सहकार्य एनआरएनएको लक्ष्य हुनुपर्ने भन्दै उहाँले आफ्नो सोही मान्यता कायम रहने बताउनु भयो ।
‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएनए मेरो रगत रगतमा छ, जीवनपर्यन्त रहन्छ,’ सम्बोधनमा भट्टले भन्नुभयो । धेरै एनआरएनका शुभचिन्तकहरुले आफूलाई दोस्रो कार्यकालका लागि तयारी गर्न सुझाव दिँदादिँदै पनि आफूले चुनाव नलड्ने निर्णय लिएको जानकारी उहाँले दिनुभयो । ‘मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु,’ भट्टले भन्नुभयो ।
एनआरएनमा रहँदा आफूले सबै पक्षको माया पाएको भन्दै आफू भाग्यमानी रहेको उहाँको भनाई छ । उहाँले आफूले अझै बढी गर्न सक्थें भन्दै कामबाट पुर्ण सन्तुष्ट भने नभएको प्रष्ट पार्नुभयो । ‘म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही माया हो । मेरो शुभेच्छुक र समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ,’ अध्यक्ष भट्टले भन्नुभयो ।
आफूले स्वतःस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको उहाँको भनाई छ । शक्ति र लोभी संस्कारलाई सबैले चिर्नु जरुरी रहेको भन्दै आफूले त्यसको थालनी गरेको भट्टको भनाई छ । ‘के अध्यक्ष मात्रै टप लिडरसिप हो र ? यहाँ कैयन भवनहरुले अवसर पाउनु पर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ मैले त्यो अन्त्य गरेको छु । धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु,’ भट्टले आफ्नो बिशेष सम्बोधनमा भन्नुभयो ।
भट्टले एनआरएनको खोल ओढेर स्वार्थको खोल ओढाउने ब्वाँसाहरुको प्रयाश जारी रहेको भन्दै बलियो नेतृत्वको वकालत गर्नुभएको छ । एनआरएनलाई कसैले बिगार्न खोजे आफू चुप लागेर नबस्ने चेतावनी पनि भट्टले दिनुभएको छ । भट्टले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार, राजनीतिक दललगायतलाई धन्यवाद पनि दिनुभयो । उहाँले आफ्नो कार्यकालमा एनआरएन भवन निर्माण, शंकमूल पार्क निर्माण, एकीकृत लाप्राक बस्ती निर्माण सम्पन्न गरिएको स्मरण गर्दै एनआरएनकै सक्रियता र सहभागितामा नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो ।
एनआरएनको नवौं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । भट्ट पूर्वअध्यक्ष शेष घलेकी पत्नी जमुना घलेलाई अघिल्लो निर्वाचनमा हराउँदै अध्यक्ष बन्दा उपाध्यक्ष कुमार पन्तले समर्थन गर्नुभएको थियो । त्यतिबेला अर्को कार्यकालमा पन्तलाई भट्टले सघाउने सहमति भएको स्वयं पन्तले बताउँदै आउनुभएको छ । भट्टले सोही सहमतिअनुसार पन्तलाई सघाउन अर्को कार्यकाल चुनाव नलड्ने घोषणा गरेका हुन् या होइनन् त्यसबारे भने भट्टले केही खुलाउनु भएको छैन ।
एनआरएनएको आगामी निर्वाचनमा उपाध्यक्ष पन्तसँगै अर्का उपाध्यक्ष कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । भट्टले मैदान खाली गर्नुभएपछि उपाध्यक्ष पन्त र आचार्यबीच चुनाव हुने देखिएको छ । यद्यपी कतिपय एनआरएनएहरु जमुना घलेलाई पुनः उम्मेदवार बनाउने प्रयाशमा रहेका छन । भट्टले पहल गरेको अवस्थामा एनआरएनएमा सर्वसम्मत समेत हुने अवस्था देखिएको छ ।