वीरगन्ज (पर्सा), २८ पुस । विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको मधेस बन्दको कारण आज बिहानैबाट यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण वीरगन्जसहित आसपासको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्न परेको छ । बन्दका कारण यहाँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधनमा पनि सञ्चालनमा आउन नसक्दा काम विशेषले हिँडेका यात्रुको बिचल्ली भएको छ । बन्दका कारण शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प भएका छन् ।
प्रेस, विवाह तथा एम्बुलेन्स र दमकलबाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको विपक्षी मोर्चाका पर्सा जिल्ला संयोजक मधेसी जनअधिकार फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो । उहाँले आज एक दिनका लागि शैक्षिक संस्था र कलकारखाना पनि बन्द आह्वान गरिएको बताउनुभयो । बन्द सफल बनाउनका लागि मोर्चाका कार्यकर्ता बिहानैबाट सडकमा उत्रिएका छन् ।
शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी प्रत्यक्ष मारमा परेको अभिभावकले बताएका छन् । उद्योगधन्दा बन्द हुँदा आफूहरूलाई करोडौँको घाटा लाग्ने वीरगन्जका उद्योगी अशोक वैद्यले बताउनुभयो । संविधानसभाबाट सहमतीय प्रक्रियाबाट नै संविधान जारी गर्नु लगायतका विभिन्न माग राख्दै विपक्र्षी मोर्चाले आज मधेससहित थरूहट बन्दको आह्वान गरेको हो । बन्द भएको थाहा नपाएर भारतबाट नेपाल छिरेका यात्रु तथा पर्यटकको पनि सीमा क्षेत्रमा बिचल्ली भएको छ ।
विराटनगर– तीस दलीय गठबन्धनले आज गरेको मधेस बन्दको पूर्वाञ्चलको तराई क्षेत्रमा बिहानैदेखि व्यापक रूपमा असर परेको छ ।
यस क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित पूर्व–पश्चिम राजमार्गका साथै सहायक मार्गमा बिहानैदेखि यात्रुवाहक बसलगायत निजी सवारी पनि ठप्प भएका छन् । बन्दको प्रभाव विद्यालय र उद्योगमा पनि परेको छ ।
एकीकृत नेकपा (माओवादी) मधेसी मोर्चालगायत ३० दलीय गठबन्धनले पहिचानसहितको सङ्घीयताको माग गर्दै आज मधेस बन्दको आह्वान गरेको हो । जिल्ला प्रहरी कार्यालयले बन्द शान्तिपूर्ण रहेको अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना नभएको जनाएको छ ।
कञ्चनपुर– एकीकृत नेकपा (माओवादी)सहितका ३० दलको आह्वानमा गरिएको बन्दका कारण कञ्चनपुर जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
आज बिहानैदेखि जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क बाट सञ्चालन हुने लामो र छोटो दुरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । मुख्य बजार, विद्यालय, क्याम्पस समेत बन्द रहेका छन् ।
भारतमा मजदुरी गरी माघेसङ्क्रान्ति मनाउन घर जानका लागि आएका तीन दर्जनभन्दा बढी पहाडी क्षेत्रका यात्रु महेन्द्रनगर बस पार्कमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व पश्चिम राजमार्ग र बजार क्षेत्रमा प्रहरीको गस्ती टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ ।
सरकारमा सहभागी राजनीतिक दलले जनआन्दोलनको मर्मविपरीत बहुमतका आधारमा पेलेरै भएर पनि संविधान जारी गर्ने प्रयत्नमा लागेकाले त्यसका विरुद्ध बन्दको आह्वान गरिएको एकीकृत नेकपा (माओवादी)का कञ्चनपुरका अध्यक्ष टेकेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
“सहमतिको वातावरण हुँदाहँदै पनि बहुमतको प्रक्रिया सुरु गर्न खोजेर जनआन्दोलनमा सहभागी राजनीतिक दलको भावनामाथि कुठाराघात गरेकाले दबाबका लागि बन्द आह्वान गरेका छौँ”– उहाँले भन्नुभयो । रासस