प्रश्नावलीले समिति कार्यविधि बनाउन उपसमिति गठन

राजनीति

काठमाडौँ, १७ माघ । संविधान निर्माणमा देखिएका विवादित विषयका सम्बन्धमा प्रश्नावली बनाउन गठित प्रश्नावली समितिले आवश्यक कार्यविधि बनाउनका लागि उपसमिति गठन गरेको छ ।

सिंहदबारमा आज बसेको प्रस्ताव समितिको पहिलो बैठकले नेपाली काँग्रेसका सभासद् रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा दीपक बोहोरा, भानुभक्त ढकाल, किरण यादव, दिलनाथ गिरी, श्रीमाया थकाली, अतहर कमाल मुसलवान सदस्य रहनुभएको छ ।

समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ नेपालगन्जमा पूर्व निर्धारित कार्यक्रममा सहभागी भएर राजधानी फर्कन ढिला भएका कारण पूर्व निर्धारित समय दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।  संविधान निर्माणका सम्बन्धमा देखिएका मूलभूत विवादित विषयमा प्रश्नावली समितिले प्रश्न बनाउने छ । समितिलाई बैठक सुरु भएको मितिले पाँच दिनको समयसीमा प्रदान गरिएको छ ।

प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा विवाद रहँदै आएको छ । एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको १९ दलीय मोर्चाको विरोधका बाबजुद गठित समितिको पहिलो बैठक आज बसेको हो । बैठकले एमाओवादी र ऊ सम्बद्ध मोर्चामा रहेका दलहरुलाई समेत सहभागी हुन आग्रह गरेको छ । तर ती दलले समितिमा सहभागी हुन नसक्ने जनाउँदै आएका छन् ।

बैठकपछि नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले तोकिएको समयभित्रै विवादित विषययका सम्बन्धमा प्रश्नावली बनाइने जानकारी दिँदै एमाओवादी र ऊ सम्बद्ध मोर्चामा रहेका दलहरु समेत सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा नेपाली काँग्रेस, नेकपा(एमाले), राप्रपा नेपाल, राप्रपा, नेकपा(माले), नेकपा(संयुक्त)लगायतका ११ दल र दुई जना स्वतन्त्र सभासद्को सहभागिता रहेको थियो ।

बैठकपछि नेकपा(एमाले)का सभासद् डा राजन भट्टराईले समितिको पहिलो बैठक भएकाले कार्यविधि बनाउनका लागि उपसमिति गठन गर्ने निर्णयका साथसाथै विवादित विषयमा सामान्य छलफल भएको जानकारी दिनुभयो । रासस

Post Comment