काठमाडौँ, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य परशुराम खापुङले राप्रपा परित्याग गर्नुभएको छ ।
खापुङले आज यहाँ पत्रकार सम्मेलन गरी परिवर्तित परिस्थिति अनुकूल पार्टीलाई अगाडि बढाउन राप्रपा नेतृत्वले नसकेको भन्दै आफ्नो पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – “पार्टीभित्र छलछाम, जालझेल, चाकडी, चाप्लुसी, चुक्ली, अवसरवाद हाबी हुँदै गएकाले मैले त्यो पार्टीमा बस्नु उचित नठानेर राजीनामा दिएको हुँ ।”
उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डतालाई सर्वोपरी ठान्दै लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समुन्नत नेपाल निर्माणका लागि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति अभियानसँग मिलेर काम गर्ने बताउनुभयो ।
पूर्व वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनुभएका खापुङ राप्रपाका संस्थापक केन्द्रीय सदस्य, राजनीतिक सचिव, प्रशिक्षण विभाग प्रमुख, सहमहामन्त्री, प्रवक्ता, महामन्त्री तथा उच्चस्तरीय सम्पादन समितिको सदस्य हुनुहुन्थ्यो ।