संसद् बैठक १ बजेसम्मका लागि स्थगित

राजनीति

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरी आजै अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।

सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका बीचमा अवरुद्ध सदन सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको भन्दै बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक दुई घन्टाका लागि पर सारिएको हो ।

नयाँ आवको बजेट सदनमा प्रस्तुत गर्नुपूर्व नै सरकारले बजेट चुुहावट गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबारको सदन चार पटकसम्म अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षले बजेट चुहावटका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उठान गरेको छ ।

सो विषयमा अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका बीचमा वार्ता जारी छ । यसअघि सत्ता साझेदार दलका बीच प्रमुख प्रतिपक्षी दलले उठान गरेको मागका विषयमा आजै छलफल समेत भएको थियो । प्रमुख प्रतिपक्षी दलले उठान गरेको सो मागमा सत्ता साझेदार दल सहमतिको नजिक पुगेको बताइएको छ ।