नेवि सङ्घमा एकसय एकाउन्न सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव

राजनीति

student unionsकाठमाडौँ, २५ जेठ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनमा १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको छ ।

नेवि सङ्घ अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आगामी अधिवेशनमा १०१ सदस्यीयबाट बढाएर १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको हो । जसमा निर्वाचित १२८ र मनोनित २३ रहने प्रस्ताव अगाडि ल्याइएको छ ।

प्रस्तावित केन्द्रीय समितिको संरचनामा अध्यक्ष एक, उपाध्यक्ष ११, महामन्त्री एक, सहमहामन्त्री १४, कोषाध्यक्ष एक, प्रत्येक प्रदेशबाट मधेसी, छात्रा, जनजाति दलितसहित सात जना सदस्य, छात्रा खुला १२, प्रविधितर्फ चार, नेपाल सांस्कृतिक विश्वविद्यालय दुई, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि, काठमाडौँ विश्वविद्यालयबाट एक÷एक, त्रिवि आङ्गीक क्याम्पस छात्रासहित सात, सामुदायिक क्याम्पस चार, पिछडिएको क्षेत्र तीन, विदेश, मुस्लिम, अपाङ्ग एक÷एक, काठमाडौँ उपत्यकाबाट सात र सिटिइभिटीबाट दुई जना चुनाव लड्ने व्यवस्था अगाडि सारिएको छ ।

यस्तै तीन उपाध्यक्ष, एक महामन्त्री, चार सहमहामन्त्री, मधेसी, दलित, जनजातीसहित छात्रा सात, दलित, जनजाति एक÷एक जना, महाधिवेशन आयोजक जिल्ला एक र खुला पाँच गरी २३ जना मनोनित गर्ने व्यवस्था प्रस्तावित संरचनामा छ ।

बैठकमा महाधिवेशन हुने समय, महाधिवेशन प्रतिनिधिबाट मनोनित केन्द्रीय सदस्य हुने व्यवस्था, वर्तमान समितिले महाधिवेशन लड्न पाउने वा नपाउने विषयमा छलफल भएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । यस्तै बैठकमा शैक्षिक आन्दोलन र देशको समसामयिक राजनीतिको बारेमा छलफल भएको छ । बैठकमा ११ औँ महाधिवेशन आगामी असार २८, २९ र ३० वा साउन २२, २३ र २४ गते गर्ने प्रस्ताव अगाडि सारिएको छ ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले महाधिवेशन वर्षात्को समयमा हुने भएकाले काठमाडौँमा गर्नुपर्नेमा जोड दिएको प्रवक्ता लामिछानेले बताउनुभयो । आज तीन दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । बैठक भोलि पुनः बस्नेछ ।