केपी शर्मा ओलीको राजीनामामा भारतको हात रहेको चिनियाँ बुद्धिजीवीकाे दाबी

केपी शर्मा ओलीको राजीनामामा भारतको हात रहेको चिनियाँ बुद्धिजीवीकाे दाबी
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामामा भारतको हात रहेको एक चिनियाँ बुद्धिजीवीले दाबी गरेका छन् । ती वुद्धिजीवीलाई उद्धृत गर्दै चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्स ले प्रधानमन्त्री ओलीको राजीनामामा भारतको हात उल्लेख गरेको छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले आइतबार पदबाट राजीनामा दिएका थिए । चिनियाँ विदेश मन्त्रालयले नेपालको आन्तरिक परिस्थितिमा हुने परिवर्तनले दुई देशको आपसी सहकार्यमा असर नगर्ने बताएको थियो ।

साथै नेपालका राजनीतिक दलहरुले देश हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै चीनले सबैको प्राथमिकता स्थिरता र देश विकास हुने विश्वास व्यक्त गरेको थियो ।

अन्तराष्ट्रिय अध्ययनका लागि साङघाई महानगरीय केन्द्रका दक्षिण तथा मध्य एसिया निर्देशक वाङ देहुवाले भनेका छन्, ‘सम्भवतः ओलीको राजीनामाको पछाडि भारत छ, किनकि ओलीले आफ्नो चीन भ्रमणका बेला गरेका सम्झौताले भारत रिसाएको थियो ।’

वाङले नेपालमा स्थिरता आए मात्रै सीमा सुरक्षाबारे भारत र चीनको चिन्ता सम्बोधन हुने बताए ।

साथै नेपाल र चीनबीचको सुमधुर सम्वन्ध नै भारतको पनि हितमा रहने बताएका छन् । उनले ग्लोबल टाइम्ससँग भनेका छन्, मलाई लाग्छ, अधिकांश नेपालीहरु चीनसँग शान्तिपूर्ण र सौहार्द सम्वन्ध कायम राखिराख्न चाहन्छन् र क्षेत्रीय सम्वृद्धिका लागि भए पनि पहिला गरिएका सम्झौताहरु कार्यान्वयन हुन्छन् ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा १४ बुँदे सम्झौता भएको थियो, जसमा पारवहन पनि छ । तर, भारतले भने चिनियाँ रेल नेपाल आउँदा आफ्नो भूभागमा (सुरक्षा) चुनौती हुने ठानेको देखिन्छ’ निर्देशक वाङ देहुवाले भनेका छन् ।