काठमाडौं १७ – नेपालको ४९ औ प्रधानमन्त्रीको लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन भने भोली वुधबार मात्र हुनेछ। व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ। उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार संसद् भवनको सूचना पार्टीमा अपराह्न साढे ४ बजे सूची प्रकाशन गर्ने कार्यतालिका छ ।
संसद्को बुधबारको बैठकमा प्रधानमन्त्रीका सबै उम्मेदवारको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल गर्ने र सबै उम्मेदवारीलाई एकैसाथ निर्णयार्थ प्रस्तुत गर्ने गरी बिहान ११ बजे कार्यतालिका तोकिएको छ।
–