काठमाडौँ, १८ साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देशको ३९ औं प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । प्रधनमन्त्रीको निर्वाचन भोलि हुँदैछ ।
संसद सचिवालयले तय गरेको कार्यसूचिअनुसार आज उम्मेद्वारहरुको मनोनयन दर्ता गराइँदै छ । संसद सचिवालयले उम्मेद्वारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि समय तोकेको छ भने सो समयमा उम्मेद्वारी दर्ता गराएकाहरुको अन्तिम नामावली अपरान्ह साढे ४ बजे प्रकाशित गरिनेछ । बुधबार बिहान ११ बजे बस्ने संसद् बैठकमा सबै उम्मेद्वारले उम्मेद्वारी सुचना प्रस्तुत गरेपछि प्रस्ताव र समर्थकले समर्थन गर्ने , सबै उम्मेद्वारको सूचनामाथि सामुहिक रुपमा छलफल हुने र सबै उम्मेद्वारीलाई एकैसाथ निर्णायार्थ प्रस्तुत गरिनेछ । प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनबाट प्रचण्डको नाम अघि सारिएको छ भने एमालेबाट सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छन् । यद्यपी एमालेको मंगलबार बस्ने संसदीय दलको बैठकले उम्मेद्वारीको टुंगो लगाउने बताइएको छ । प्रचण्डलाई कांग्रेसको बलियो समर्थन रहेकाले उनी नै प्रधनमन्त्रीमा निर्वाचित हुने लगभग पक्कापक्की छ । प्रधानमन्त्री निर्वाचित हुन संसदमा बहाल ५ सय ९५ को बहुमत अर्थात् २ सय ९८ भोट आवश्यक पर्छ । संसदमा नेपाली काँग्रेसका २ सय ७ र माओवादी केन्द्रका ८१ सांसद छन् । प्रधानमन्त्री निर्वाचित हुनको लागि थप १० भोट आवश्यक हुन्छ । फोरम लोकतान्त्रिकसँग १४ र राप्रपासँग १२ सांसद छन् । माओवादी केन्द्रका पक्षमा ३६० मत रहेको बताइन्छ । राप्रपा नेपाल बाहेकका अन्य साना दलले समर्थनको संकेत जनाएको छ भने मधेशी मोर्चामा आबद्ध दलले पनि प्रचण्डलाई मतदान गर्ने तयारी गरेका छन् ।