काठमाडौँ, साउन १९। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ ।
व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र सुरु भएको बैठकमा ती दलहरुबीच मङ्गलबार भएको मौखिक समझदारीलाई निष्कर्षमा पुर्याउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
मोर्चाले आफ्ना मागमा सकारात्मक भएमा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने जनाउँदै आएको छ । वार्तामा काँग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष दाहाल र मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत सहभागी छन् । संसद्को आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।