काठमाडौं, भदौ १२ । नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्बद्र्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उनले भने–‘मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।’
अन्तर्राष्ट्रियजगत्मासमेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै नवनियुक्त रक्षामन्त्री खाँणले भने–‘नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भलाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ ।’
नेपाली सेना र जनताबीच रहँदै आएको आत्मीय सम्बन्ध विस्तार गर्ने, संगठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने गौरव र प्रतिष्ठा बढाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले ‘नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखन्डता र नेपाली जनताको सुरक्षामा नेपाली सेनाले गरेको कार्यमा सहयोग पुर्याउनु हामी सबैको दायित्व हो’–भने ।
स्याङ्जाको मल्याङकोट गाविसमा २०१७ सालमा जन्मिएका नवनियुक्त मन्त्री खाँण २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पार्टीका तर्फबाट युवापुस्ताको पटक–पटक नेतृत्व गरेका खाँण नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको पूर्वअध्यक्ष हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्यसमेत रहेका नवनियुक्त रक्षामन्त्री खाँणले यसअघि २०६६ सालमा सिँचाइमन्त्री र २०६१ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका थिए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
नेपाल सरकारका पुराना मन्त्रालयमध्ये एक रहेको रक्षा मन्त्रालयको स्थापना २००७ सालको क्रान्तिपछि भएको हो ।
रक्षा मन्त्रालयले मुख्यतयाः राज्यको स्वतन्त्रता, भौगोलिक अखन्डता, स्वाधीनता, राष्ट्रिय एकता सुदृढ गराउने कार्यक्रमको नीतिगत व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको छ ।
राष्ट्रिय सुरक्षा नीति, रणनीति/प्रतिरक्षा नीतिको तर्जुमा एवं कार्यान्वयन गर्ने गराउने कार्य र नेपाली सेनाको व्यवस्थापनमा सहयोग एवं सहजीकरण गर्नु मन्त्रालयको मुख्य कार्य हो ।
उक्त मन्त्रालय मातहत चारओटा महाशाखा रहेका छन् भने कर्मचारीको दरबन्दी १०१ भएपनि हाल ६३ जना कर्मचारीबाट मन्त्रालयको कार्यसम्पादन हुँदै आएको छ ।