७ असोज ,काठमाडौँ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको छ ।
क्रान्तिकारीले हिजो कामको सिलसिलामा आफ्नो केन्द्रीय सदस्य प्रमोद गिरि र जिल्ला सदस्य महेन्द्र तामांगलाई बिना कारण प्रहरीले पक्राउ गरेको भन्दै आन्दोलन घोषणा गरेको हो ।
क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले एक विज्ञप्ती जारी गर्दै विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संयोजक विश्वकर्माले कानूनले दिएको राजनीतिक अधिकारसमेत कुण्ठित हुने गरी गरिएको गिरफ्तारी प्रति खेद प्रकट गर्दै प्रशासनले चालेको गलत कदम रोक्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित नियमअनुसार स्वतन्त्रतापूर्वक रहँदै गर्दा उहाँहरुमाथि प्रशासनद्वारा गरिएको धरपकड कदापी स्वीकारे छैन । नागरिकको राजनीतिक अधिकार कुण्ठित पार्ने गरी गरिएको गिरफ्तार निन्दनीय छ ।’ कानूनको उपहास गर्ने अधिकार कसैलाई नभएको भन्दै झुठा बहानामा गरिएको हर्कत तत्काल बन्द गर्न माग गरिएको छ । ‘कानूने दिएको अधिकारको उपहास गर्ने छुट बर्दिवाला र बर्दिविहीन कसैलाई पनि छैन’ जारी विज्ञप्तिमा उल्लेख छ । बिनासर्त गिरफ्तार गरिएका गिरी र तामाङलाई तत्काल रिहा गर्न माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरिएको छ ।
जसअनुसार असोज ८ गते प्रचारप्रसार, असोज ९ गते ललितपुर, भक्तपुर र काठमाडौंका सम्पूर्ण शैक्षिक संस्थामा कर्मचारीलाई प्रवेश निषेध, १० गते तीन वटै जिल्लामा कोणसभा र असोज ११ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने रहेको छ । गिरी र तामाङलाई प्रहरीले असोज ५ गते कलंकीस्थित क्याम्ब्रिज कलेजबाट गिरफ्तार गरेको थियो । हाल दुवैजनालाई कालीमाटी प्रहरी वृत्तमा थुनामा राखिएको छ ।
विगेप्तिको पूर्ण पाठ यहाँ हेर्नुहोस ।