नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई कुँडो खाएर अघाएको भैंसीको संज्ञा दिनुभएको छ ।

राजनीति

एमाले अध्यक्ष ओलीले मुलुकमा केही भएकै छैन जसरी चुपचाप वस्नुले काँग्रेस पार्टी कुँडो खाएर अघाएको भैंसीभन्दा फरक नदेखिएको बताउनुभयो । नेकपा एमालेको प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकको सोमबार ललितपुरमा उद्घाटनका क्रममा ओलीले नेपाली काँग्रेस अहिले कालिदासको नाटकमा शकुन्तला बेहोसी बनेजस्तै देखिएको बताउनुभयो ।

उहाँले देशको सबैभन्दा ठूलो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, संविधान संशोधन, संविधान कार्यान्वयन लगायतका विषयमा कुनै टिप्प्णी नगर्नु आश्चर्यको विषय भएको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले छिमेकी मुलुक भारतमाथि नेपालमा विकास हुन नदिने र अस्थिरता कायम गर्न डरलाग्दो खेल खेलिरहेको आरोप लगाउनुभयो । विभिन्न संस्था र दलहरुलाई प्रयोग गरेर भारतले नेपालको विरुद्धमा षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।

एमाले अध्यक्ष ओलीले मधेशवादी दलहरुले यसअघि गरेको आन्दोलन र मधेशवादी दलहरुले अगाडि सारेका संविधान संशोधनका विषय प्रायोजित भएको भन्दै प्रायोजित विषयका पछाडि लाग्दा मुलुकको हित नहुने बताउनुभयो ।