काठमाडौं, १३ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले सरकारले आफ्नो महासंघलाई यायातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात कार्यालयमा यातायातसम्बन्धी व्यवस्थापन बैठकमा बोलाउनुपर्ने माग गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले नेपालमा सर्वाजनिक यातायात क्षेत्रमा स्वस्थ प्रतिष्पर्धामा खरो उत्रिने आफ्नो महासंघलाई यातायात क्षेत्रको व्यवस्थाको लागि आयोजना गरिने कुनैपनि बैठक तथा छलफलमा नबोलाएकोमा आपत्ति जनाउँदै आगामी दिनमा आफ्नो महासंघलाई पनि बोलाउनुपर्ने माग राखेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णु सिवाकोटीले महासंघलाई सरकार पक्षले सबै खाले बैठकमा सहभागी गराउनुपर्ने माग गर्दै भने,‘हामीलाई पनि यातायात क्षेत्रको व्यवस्थापकीय बैठकमा बोलाउनुपर्छ, हामीलाई बाईपास गरेर अघि बढ्न खोजिए यो कुनै हालतमा हामीलाई सह्य छैन् ।’
अध्यक्ष सिवाकोटीले आफ्नो महासंघलाई नबोलाईकन गरिएका निर्णयहरु अवैज्ञानिक, अव्यवस्थित् र स्वार्थले भरिएको आरोप लगाउँदै आगामी दिनमा उक्त गलत काम बन्द गरेर सबै सरोकारवालाहरु एक ठाउँमा बसेर उपर्युक्त र वस्तुनिष्ठ निर्णय गर्नुपर्ने स्पष्ट पारे ।
महासंघले सडकको पूर्ण मर्मतसम्भार गरि ईच्छुक सवारी साधनलाई यथाशिघ्र बाटो ईजाजत प्रदान गर्न सरकारको ध्यानाकार्षण गराएको छ ।