सार्क रद्द हुने चर्चा चल्दैगर्दा बोलेनन् प्रचण्ड

राजनीति

काठमाडौं, असोज १३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को काम गराइको गति निकै सुस्त रहेको भन्दै निर्णय कार्यान्वयनमा अब कत्ति पनि ढिलाइ गर्न नहुने बताएका छन् ।

व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा बिहिबार काठमाडौमा सुरु भएको सार्कको प्रभावकारिता सम्बन्धी क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सार्कले तीन दशको अवधिमा धेरै निर्णय गरे पनि निर्णय कार्यान्वयनको अवस्था निकै कमजोर रहेकाले अब फटाफट निर्णय कार्यान्वयन गरेर यस क्षेत्रका जनतालाई प्रतिफल दिनुपर्ने बताए ।

उनले तीन दशकको बीचमा सहमति गर्ने, प्रतिबद्धता जनाउने र संयन्त्र बनाउने काम भएपनि सहमति र प्रतिबद्धता कार्यन्वयन गर्न सार्कका संयन्त्रहरु कामयावी हुन नसकेको भन्दै सार्क क्षेत्रका जनता अब धेरै धैर्य गर्ने अवस्थामा नरहेकोतर्फ सार्कको ध्यान जानुपर्ने बताए ।

सार्कका सबैजसो सदस्य मुलुकका प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्री दाहालले सार्कमा प्राकृतिक स्रोत र जनशक्तिको ठूलो सम्भावना रहेको भन्दै अब ती सम्भावनालाई अवसरको रुपमा प्रयोग गरेर जनतालाई प्रतिफल दिने दिशामा सदस्य मुलुकहरुको ध्यान जानुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले पाकिस्तानमा आगामी नोभेम्बर महिनाका लागि तय गरिएको सार्कको १९ औं शिखर सम्मेलनमा भारत लगायतका विभिन्न चार वटा मुलुकले सहभागी नहुने घोषणा गरेको बारेमा भने आफ्नो लिखित मन्तव्यमा केही उल्लेख गरेनन् ।
नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले सार्कले गरेका निर्णय र प्रतिबद्धता कार्यान्वयनका लागि सदस्य मुलुकहरुले काँधमा काँध मिलाएर काम गर्न आवश्यक रहेको बताए ।

संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्कको गति सुस्त भएको भन्दै विगतमा भएका महत्वपूर्ण निर्णयहरुको कार्यान्वयन सम्बन्धमा सुझाव दिने उद्देष्यले सम्मेलन गरेको हो । दुई दिने सम्मेलनमा सार्कको तीन दशकको समीक्षा, आर्थिक सहायता, विश्वास र समझदारी प्रबद्र्धन लगायतका विभिन्न पाँच वटा विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ ।