९,कार्तिक ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले कांग्रेस लोकमानसिंह कार्कीविरूद्धको महाभियोगको विपक्षमा उभिनुपर्ने बताएका छन्।
मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले लोकमानविरूद्ध लगाइएको महाभियोगको कुनै औचित्व नभएको भन्दै पार्टी त्यसको विपक्षमा उभिनुपर्ने बताएका हुन्।
‘लोकमानलाई अहिले महाभियोग लगाउनु भनेको आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा ल्याइएको हो,’ उनले भने, ‘एमालेको षडयन्त्रभित्र कांग्रेस फस्नु जरूरी छैन।’
आक्रमक रूपमा प्रस्तुत भएक खड्काले यदि लोकमान गलत थिए भने अहिले होइन हिजो पनि गलतै भएको बताए। ‘यदि उनी गलत थिए भने उनलाई नियुक्ति गर्ने नेताहरू कसरी सही हुन सक्छन्?’, उनले प्रश्न गरे।
तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीप्रति आक्रमक देखिएका उनले मुलुकको संविधान र कानुनको रक्षा गर्ने ओहदामा बसेको ब्यक्ति रेम्मीले यदि लोकमानको अवस्था खराब थियो भने किन सिफारिस गरेको? भनि प्रश्न गरे। ‘यदि लोकमान गलत हो भने उनीमाथि छानबिन र कारबाही गर्नु परेन । नियुक्ती गर्ने मान्छे सही र नियुक्त भएको मान्छे गलत भन्ने हुन्छ?’, उनले भने।
आफ्नो बारेमा छानबिन हुनसक्ने भन्दै अत्तालिएर एमाले-माओवादीले यो प्रस्ताव ल्याएका भन्दै उनले भने,‘ आफूमाथि छानबिन हुनसक्ने डरले माओवादी-एमालेले यो प्रस्ताव ल्याएका हुन्। हिजो कांग्रेसका नेताहरूलाई पर्दा ठीक र अहिले एमालेका केही नेताहरूलाई पर्दा गलत कसरी हुनसक्छ?’ उनले भने,‘अख्तियार प्रमुखकका लागि यदि लोकमानको अयोग्यता हो भने त्यो मुद्दा अदालतमा विचारधिन छ। त्यसलाई अदालतले नै फैसला गर्छ।’
खड्काले जनताको चाहनाविपरीत पार्टी धर्मनिरपेक्षतामा गएको भन्दै संविधान संशोधन गर्दा नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने माग गरे। यदि पार्टीले त्यसो नगरे हिन्दु राष्ट्रको मुद्दा लिएर आफैं अघि बढ्ने चेतावनी दिए ।
रासस