काठमाडौँ, ९ कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विशिष्ट राजनीतिक अवस्थामा संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
उहाँले मुख्य तीन राजनीतिक दलको सहमतिका आधारमा निर्वाचनका प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो ।
मन्त्री महतले भन्नुभयो – “लोकतन्त्रमा सबैले विधिको शासनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ, त्यसका लागि सबै राजनीतिक दलले राजनीतिक सद्भाव र सहयोग गर्नुपर्छ ।
द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वार्थ र आवश्यकता सम्बोधन गर्न आफू लागिपरेको बताउँदै उहाँले मुलुकको हितमा विदेशी सहयोग तथा लगानी कसरी गर्न सकिन्छ भन्ने विषयमा दिनरात खटिरहेको छु भन्नुभयो ।
नेपाली काँग्रेसका नेतासमेत रहनुभएका डा महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गर्नुभयो ।