बिजय गच्छदार सहभागी कार्यक्रममा गोलि चल्यो , प्रहरीद्वारा हवाई फायर

राजनीति

२१,मंसिर । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामे साँघुमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको छ ।

मदिरा सेवन गरेर आएका केही युवाले सोमबार कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाईफायर गर्नुपरेको प्रनाउ राईले बताउनुभयो ।भीडबाट नियन्त्रणमा लिएका दुई युवा पनि भागेको बताइएको छ ।

सो गाविसमा फोरम लोकतान्त्रिकको पार्टी प्रवेश कार्यक्रम थियो ।घटना भएको ठाउँ ‘डन’ भनेर चिनिने सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको गाउँ पनि हो ।

प्रहरीका अनुसार पार्टी अध्यक्ष गच्छदारले मन्तव्य राख्न सुरु भएको केही बेरमा नै कार्यक्रम बिथोल्ने प्रयास भएको थियो ।प्रहरीले नियन्त्रणमा लिएका दुई युवाको खोजी कार्य जारी रहेको जनाइएको छ ।

Post Comment