४,पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्नेहरुलाई मधेशमा नाङगोझार पार्ने चेतावनी दिएका छन् ।
अध्यक्ष महतोले भने- ‘यो प्रस्तावलाई परिमार्जनसहित संसदमा अघि बढाउँदा यसको विरोध गर्नेहरुको विरोधमा मोर्चा जान्छ, सडकमा दबाब दिन्छ, नाँगोझार पार्छ, मधेशमा एमालेजस्ता पार्टीहरु टिक्न सक्दैनन्, त्यसपछि मधेशी जनताले एमालेमुक्त मधेशको निर्माण गर्न सक्छ, त्यहाँका जनताले एमालेलाई टिक्न दिँदैनन, अनि एमाले संशोधन गर्न तयार हुन्छ । ’महतोले जनतालाई अधिकार दिनको लागि ल्याईएको संविधान संशोधन प्रस्तावमा सहयोग नगरे एमालेका मधेसका नेता तथा कार्यकर्ताहरुले नै एमाले मुक्त मधेस बनाउने दाबी गरे ।
उनले एमालेले अहिले राष्ट्रघाती काम गरिरहेको समेत आरोप लगाए । उनले अघि थपे- ‘मधेश यसको प्रतिकारमा उत्रियो भने गृहयुद्ध भैहाल्छ, एमालेले सारा उपलब्धिलाई उल्ट्याउने काम गरिरहेको छ, साम्प्रादायिक मुठभेड गराउने गतिविधि गरिरहेको छ, संघीयताको मात्रै नभएर संविधानकै विरोधमा एमालेले काम गरिरहेको छ ।’
संविधान असफल भए यसको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्ने महतोको भनाई छ ।