१०,पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्तावले पार्टीलाई क्षति हुने बताएका छन् ।
आइतबार एक अन्तर्वार्तामा बोल्दै रायमाझीले जनता कुनै पनि हालतमा पाँच नम्बर प्रदेश टुक्राउने पक्षमा नरहेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावले भविष्यमा माओवादी केन्द्रलाई क्षति हुने बताए ।
‘त्यहाँका जनता कुनै पनि हालतमा प्रदेश टुक्राउने पक्षमा छैनन् । जनताको त्यो आवाज र मनलाई त्यहाँको जनप्रतिनिधि भएको हिसाबले मैले आन्दोलनमार्फत प्रतिनिधित्व गरेको छुँ,’ उनले भने- ‘पाँच नम्बर टुक्राउने प्रस्तावले भोलिका दिनमा माओवादी केन्द्रलाई अलिकति क्षति हुन्छ र समस्या पार्छ भन्ने लागेको छ ।’
जनताको भावनाको प्रतिनिधित्व गर्दा पार्टीबाट कारवाही भए सहने टोपबहादुरको भनाई छ । ‘कारवाही हुने कुरामा मलाई रत्तिभर डर छैन । सारा जनता टोपबहादुरको पक्षमा छ, टोपबहादुर जनताको पक्ष र भावनामा छ । बस यत्ति भए पुग्यो,’ उनले भने ।