१४,पुस ।दोलखाका तीनजना एमाले सांसदले द्धन्द्ध पीडितका नाममा तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङ, २ बाट निर्वाचित आनन्दप्रसाद पोखरेल र एमाले पोलिटव्यूरो सदस्य समेत रहेका सांसद पशुपति चौलागाईले माओवादीका पूर्व लडाकुलाई १२ अर्ब रुपैयाँको सेयर दिने तयारी भित्र भित्रै भइरहेको दावी गरे ।
दोलखाका तीन सांसदले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीकै निर्देशनमा ११ अर्ब ८० करोड रुपैया निःशुल्क सेयरको रुपमा वितरण गर्ने कार्य भइरहेको बताए ।
प्रधानमन्त्रीबाटै देशको ऐन, कानुन र सेयर वितरण प्रक्रिया तथा सरकारी ऋण लगानीको प्रक्रिया विपरित राज्यको रकम कार्यकर्तालाई बाँड्ने प्रयास भएको उनीहरुको दाबी छ ।
प्रधानमन्त्रीले हालै तामाकोशी आयोजनाको भ्रमणका क्रममा पूर्व लडाकु, द्वन्द्व पीडित, सहीद तथा बेपत्ता परिवार र विपन्नलाई सरकारद्वारा विद्युत प्राधिकरणलाई लगानी गरेको रकम सेयरका रुपमा वितरण गर्ने प्रतिबद्धता गरे अनुरुप काम शुरु भएको सांसदहरुले दावी गरे ।
स्वदेशी लगानीमा निर्माणाधीन तामाकोशी आयोजना बन्न नदिनेहरुको आडमा प्रधानमन्त्रीबाटै यस्ता हतकण्डा अपनाउन लागिएको सांसद गुरुङले आरोप लगाए । जुन मोडल र सेयर संरचनामा आयोजना बनेको छ, यसलाई कुनै वहानामा खण्डित गर्न नहुने उनले बताए ।