२२, पुस । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध अब अन्य दल मिलेर जानुपर्ने बताएका छन् । साथै उनले अब देशलाई एमालेमुक्त बनाउनुपर्ने प्रस्ताव अघि सारे ।
नेपाली कांग्रेसका नेता समेत रहेका निधिले कांग्रेस सम्बद्ध पत्रकार तथा रेडियो सञ्चालकहरुको भेलामा एमालेविरुद्ध सबै मोर्चाहरुमा माओवादी लगायतका दलहरुसँग मिलेर जाने सुत्र सुनाएका हुन् ।
एमालेविरुद्ध कांग्रेस जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै उनले भने– ‘अब एमालेविरुद्ध सबै मोर्चाहरुमा माओवादी लगायतका दलहरुसँग मिलेर जाने बेला आयो । आगामी निर्वाचनसम्म सहकार्य हुनुपर्छ । त्यसका लागि नेपाली कांग्रेस जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्छ ।’
एमालेको ‘पत्तासाफ’ गर्ने निधिको सुत्र बुझ्ने हो भने कांग्रेसले सबै पदमा माओवादी केन्द्रलाई बोक्ने र आफूले त्याग गर्ने नै हो । तर, यो सम्भव नरहेको कांग्रेसका युवा नेताहरु बताउँछन् । ‘सबै मुख्य पद माओवादी र तल्लो पदमा कांग्रेस आउने हो भने देशकै ठूलो पार्टीको इज्जत के हुन्छ,’ एक युवा नेताले दैनिक नेपालसँग भने ।