बामदेबको निवासमा आकस्मिक बैठक बसेर एमालेले गर्यो यस्तो कठोर निर्णय !

राजनीति

२४,पुस । प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।

उपाध्यक्ष बामदेव गौतमको भैसीपाटीस्थित निवासमा शनिबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको आदेश पालना गर्दै सरकारले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद् अवरुद्ध जारी राख्ने निर्णय गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

एमाले सचिव भीम आचार्यले संशोधन प्रस्ताव संविधानको भावनाविपरीत, राष्ट्र र राष्ट्रियताविरुद्धमा रहेकाले सरकारले फिर्ता नलिएसम्म संसद् अवरुद्ध नखोल्ने निर्णय गरिएको बताए ।

सचिव आचार्यका अनुसार बैठकले सरकारले संविधान संशोधनबाहेक निर्वाचनसहित अन्य विधेयक ल्याएमा भने संसद् अवरुद्ध नगर्ने निर्णय बैठकले गरेको छ ।
‘हामी राष्ट्र र राष्ट्रियताको पक्षमा रहेका छौं, सरकारले राष्ट्र र राष्ट्रियताविरुद्ध अघि बढाएको संशोधन विधेयक फिर्ता लियो भने संसद् अवरोध स्वतः हटछ,’ आचार्यले भने, ‘यदि सरकार अदालतको आदेशलाई समेत बेवास्ता गर्दै जबर्जस्ती अघि बढ्ने प्रयास गर्छ भने संसद् अवरुद्ध जारी रहन्छ ।’

सरकार प्रदेश टुक्र्याउने गरी ल्याएको संशोधन विधेयक फिर्ता लिएर निर्वाचनलगायत विषयमा छलफल गर्न अघि बढे एमाले त्यस्तो विषयको छलफलमा सहभागी हुने उनले प्रस्ट पारे ।

Post Comment