२४,पुस । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा (एमाले)ले संसद् अवरुद्ध गरेर मुलुकको निकासको बाधक बन्न नहुने सुझाव दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले एमालेले अब संसद् अवरुद्ध नगरी मुलुकलाई निकास दिन जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
सङ्घीयताको विषयमा रहेका असन्तुष्टिलाई तत्कालै सम्बोधन गरी निकास नदिए मुलुक द्वन्द्वमा फस्ने बताउँदै उहाँले आफूहरु सरकार र परिवर्तनकारी दलहरुका बीच सङ्घीयतामा नमिलेका विषयलाई मिलाउन पटक पटक छलफलमा रहेको बताउनुुभयो ।
सङ्घीयताको विषयमा विगतको राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसार संविधानमा मधेस प्रदेशमा दुई प्रदेश र पहाडमा आठ प्रदेश गरी १० प्रदेशको व्यवस्था नगरेकाले मुलुकमा अहिलेको समस्या आएको बताउँँदै उहाँले काँग्रेस र एमालेको पुरानो सोचका कारण आयोगले दिएको सुझावलाई बङ्ग्याउने काम भएको टिप्पणी गर्नुभयो ।
पूर्वका झापा, सुनसरी र मोरङका मधेसी÷थारु बाहुल्य भागलाई २ नं प्रदेशमा, सुदूरपश्चिमको थारु बाहुल्य क्षेत्रलाई ५ नं प्रदेशमा र लुम्बिनी–राप्तीका मगर बाहुल्य क्षेत्रलाई ४ नं प्रदेशमा राखेर अहिले निकास दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
हाल देखापरेको राजनीतिक समस्या समाधान हुनेबित्तिकै मधेसवादी दलहरुसँग आफ्नो पार्टीको एकीकरण हुने सम्भावना रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।