संविधान कार्यान्वयनका लागि निर्वाचन :-नेता भुषाल

राजनीति

दाङ, ७ माघ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य बेदुराम भुषालले निर्वाचन घोषणा गर्न सरकारले तत्परता नदेखाएको बताउनुभएको छ ।

सरकारले निर्वाचनभन्दा पनि संविधान संसोधन ल्याएर निर्वाचन टार्न खोेजेको आरोप उहाँको थियो ।

सरकारले निर्वाचनमा तत्परता देखाउन सकेको छैन,नेता भुषालले भन्नुभयो ‘निर्वाचनका लागि निर्वाचन विधेयक अघि बढ्न सकेको छैन । अरु कार्य पनि त्यतिकै छन् ।’

उहाँले मुलुकमा निर्वाचन गराउन छोडेर सरकारले संविधान संसोधन विधेयक दर्ता गरेर अल्झाउन खोजेको समेत बताउनुभयो । ‘सरकारले ल्याएको संसोधन विधेयक राष्ट्रको पक्षमा छैन ।

यो विधेयकले पहाड र तराइलाई अलग गराउन खोजेको छ’, नेता भुषालले भन्नुभयो ‘यो फिर्ता गर्नुको विकल्प छैन ।’ नेता भुषालले संविधान संसोधन विधेयक पास नहुने समेत बताउनुभयो ।

‘संविधान संशोधन विधेयक मतदानमा गएपनि फेल हुन्छ । त्योभन्दा सरकारले फिर्ता गरे नै उत्तम छ’ उहाँले भन्नुभयो ‘पास गर्नका लागि सरकारसँग दुइतिहाई मत चाहिन्छ । तर प्रतिपक्षसंग नै एकतिहाई मत छ ।’ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै नेता भुषालले चुनावको मिति घोषणा गर्न मागसमेत गर्नुभयो ।

Post Comment