मधेसका मुद्दा सम्बोधनबिना कुनै पनि तहको चुनाव सम्भव छैन :-अध्यक्ष ठाकुर

राजनीति

इनरुवा, १० माघ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनबिनाको संशोधन प्रस्ताव मोर्चालाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज रासससँग कुरा गर्दै अध्यक्ष ठाकुरले सो कुरा बताउनुभएको हो ।

उहाँले हचुवाको भरमा संविधान संशोधन प्रक्रिया अघि बढाउन खोजिए मोर्चा विरोधमा उत्रिन बाध्य हुने उल्लेख गर्नुभयो । सरकारले मधेसी जनता र मोर्चालाई समेटेर अघि बढ्न चाहन्छ भने आफूहरुका माग समेटेर परिमार्जनसहितको संविधान संशोधन पारित हुनुपर्ने उहाँको भनाइ थियो ।

चुनावका लागि प्रमुख तीन दल सहमति नजिक पुगेकोबारे अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधनबिना कुनै पनि तहको चुनाव सम्भव नरहेको जिकिर गर्नुभयो । मोर्चा पर्ख र हेरको अवस्थामा रहेकाले सरकारले लिने कदमपश्चात् ठोस निर्णयमा पुग्ने उहाँले बताउनुभयो ।

Post Comment