पोखरा, १० माघ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता खनालले संविधान संशोधनभन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको जिकिर गर्नुभयो ।
निर्वाचनको मिति घोषणा गर्न आलटाल नगरी अविलम्ब घोषणा गर्न आग्रह गर्दै उहाँले अर्को सालको माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न भएमात्रै संविधान कार्यान्वयन हुने धारणा राख्नुभयो ।
उहाँले संविधान संशोधनको अहिले कुनै अर्थ छैन र संशोधनको प्रक्रियामा गए देश दुर्घटनामा पर्ने चेतावनीसमेत दिनुभयो ।
प्रेस चौतारी नेपाल, कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।