“अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ”

राजनीति

इलाम ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे मात्र तीनतहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा सोमबार इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी (केन्द्र) सँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उहाँले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा गर्न नसकेको हो आरोप लगाए ।

“अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुने र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।”

सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिती बढेको उहाँले उल्लेख गरे ।

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उहाँले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसद्मा दर्ता भए पनि कुनैपनि हालतमा पास हुन नदिने विचार व्यक्त गरे ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गर्ने ८६ घरका १७५ जनाभन्दा बढीलाई उनले पार्टीमा प्रवेश गरेकालाई स्वागत गरे ।

Post Comment