काठमाडौँ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले जेठ पहिलोहप्ताभित्रै निर्वाचन गर्ने गरि सरकारले गृहकार्य गरिरहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘आगामी ०७४ जेठको पहिलो हप्ताभित्रै निर्वाचन गर्नेगरि सरकारले प्रमुख प्रतिपक्षी दल एमाले र मधेसी मोर्चासँग छलफल गरिरहेको छ ।’
बुधबार पत्रकार पुरीचन्द्र देवकोटाद्धारा लिखित कर्णाली दर्पणको रिपोर्टर्स क्लब नेपालमा विमोचन गर्दै मन्त्री केसीले तीन दिनभित्र नेकपा (एमाले) र संयुक्त मधेसी मोर्चालाई छलफल गरेर जेठ पहिलो हप्ताभित्र निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् । मन्त्री केसीले भने, “मोर्चा वा एमालेलाई पन्छाएर निर्वाचनमा जानुहुँदैन ।”
मन्त्री केसीले संविधान संशोधन हुनु हुँदैन भन्ने सोच अतिवादी सोच भएको बताउँदै सबै जनताको भावनालाई समेट्नेगरी संविधान संशोधन हुनुपर्ने जिकिर गरे।
उनले संविधान निर्माण गर्ने राजनीतिक दलहरु संविधान कार्यान्वयनका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिए। उनले मुलुक सङ्घीयतामा गइसकेको भन्दै सङ्घीयताले काठमाडौँ र कर्णालीको दुरी कम गर्ने विश्वास व्यक्त गरे ।