मधेसी नेता भन्छन् :-मधेशमा चुनाव हुन दिनौं भन्नेलाई चुनाव रोकेर देखाउन चुनौँति दिन्छु

राजनीति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावलाई आफ्नो पार्टीले कुनै हालतमा पनि पारित गर्न नदिने चेतावनी दिएका छन्।

हिमालय टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम “धमलाको हमला”मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महासेठले यस्तो चेतावनी दिएका हुन्। उनले भने,“यो प्रस्ताव देश र जनताको हितमा छैन, त्यसैले एमालेले यसको विरोध गरेको हो, र यो प्रस्ताव हामी कुनैपनि हालतमा पास गर्न दिँदैनौं।”

सरकार र मधेशी मोर्चाप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता महासेठले संसदमा टेबुल भएको संशोधन प्रस्ताव देशको हितमा नहुनुका कारणहरु समेत अघि सारे। उनले थपे,“यो प्रस्तावमा यस्तो कुनै कुरा छैन कि जसले मधेश र नेपालीहरुको हित गरोस्, यो प्रस्तावले मधेशको समस्या कुनै हालतमा पनि समाधान गर्न सक्दैन्।”

उनले मधेशलाई अधिकार दिने कुरामा आफूहरुको पूर्ण सहमति रहेको दाबी गर्दै भने,“हामीले मधेशलाई अधिकार दिनुहुँदैन भनेर कहाँ भनेका छौं र ? तर देशलाई विखण्डन गरेर अधिकार दिन सकिँदैन्, त्यस्तै दोस्रो कुरा, यो संशोधन प्रस्तावले मधेशलाई लाभ हुँदैन्, न त अधिकार नै दिन सक्छ।” उनले संशोधन विद्येयकबाट मधेशलाई केही फाईदा हुने भएको भए केही सोच्न सकिने थियो तर अहिलेको अवस्थामा यसलाई कुनै हालतमा पनि समर्थन गर्न नसकिने जिकिर गरे।

नेता महासेठले उक्त संशोधन प्रस्ताव नेपाली वा मधेशी जनताको चाहना अनुसार नल्याईएको समेत आरोप लगाए। उनले भने,“यो प्रस्ताव विदेशीहरुको चाहना अनुसार ल्याईएको हो।” उनले आफूहरुले उक्त प्रस्तावको दीर्घकालिन असर समेत राम्रोसँग बुझेर नै विरोध गरेको स्पष्ट पारे।

महासेठले अघि भने,“यदि देश र जनताको हितमा यो प्रस्ताव भएको भए, नेकपा एमालेले सबैभन्दा पहिले अग्रपँक्तिमा उभिएर यसको समर्थन गर्दथ्यो।”

अहिलेको प्रस्ताव त तपाईकै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पहिला अघि सारेको प्रस्ताव हो नि, किन यस्तो विरोध गर्नुभएको भन्ने धमलाको प्रश्नमा उनले भने,“म अहिले सुन्दैछु अहिलेका माननीय गृहमन्त्रीले धेरै ठाउँमा डकुमेन्ट बाँड्दै हिँड्नुभएका छ अरे, यदि यो प्रस्ताव ओलीजीको थियो भने त्यतिवेला काँग्रेस र माओवादीले किन मानेन त ?, जहाँसम्म सहीछापको कुरा छ, अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेपनि केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा सही छाप गर्नुभएकै हो नि।”

उनले संसदमा टेबुल भएको प्रस्ताव आफूहरुले कुनै हालतमापनि नमान्ने ठोकुवा गरे। महासेठले भने,“यसलाई मान्नु भनेको देशलाई विखण्डन गर्नु हो, यो प्रस्तावलाई मान्नु भनेको देशमा सयौं वर्षदेखि कायम रहेको सामाजिक सद्भाव समाप्त गर्नु हो। त्यसकारण हामी यसलाई मान्दैनौं।”
नेता महासेठले संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका कुन–कुन विषय मधेशलाई काम लाग्छ भन्दै मधेशी मोर्चाका नेतालाई देखाउन खुल्ला चूनौति दिए। उनले संशोधन विद्येयकमा उल्लेख गरिएको भाषा संविधानमा पहिले नै समावेश गरिएको जिकिर गरे।

त्यस्तै उनले नागरिकताको सवालमा पनि अंगीकृतलाई नागरिकता दिनेमात्रै माग गरेर मधेशका रैथानेहरुलाई बेवास्ता गर्न खोजिएको समेत आरोप लगाए। उनले अघि भने,“नेपालमै जन्मिएर जन्मसिद्धको आधारमा नागरिकता लिएकाहरुको बारेमा उहाँहरुलाई कुनै चिन्ता छैन, उहाँहरुका छोराछोरीहरुको पढाईको बारेमा कुनै चिन्ता छैन, तर अँगीकृतको बारेमा उहाँहरुलाई चिन्ता छ, मधेशमा रैथानहरुलाई बेवास्ता गर्ने काम हो।”

उनले नागरिकताको सवालमा नेपालमा जस्तो सजिलो र खुकुलो प्रावधान विश्वमै सायदै कतै नभएको समेत जिकिर गरे। महासेठले भने,“विवाह गरेको दिनमै नागरिकता, एकैदिनमा संसद, र त्यही दिनमा मन्त्री बन्ने प्रावधान छ, यस्तो विश्वमा कहाँ छ ? हाम्रै छिमेकी मित्रराष्ट्र भारतमा हेरौं त नागरिकताको बारेमा ? कति गाह«ो छ ?”

उनले अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक प्रमुख र सुरक्षा निकायको प्रमुख कुनै हालतमापनि बनाउन नसकिने बताए। उनले भावनामा देश चल्न नसक्ने समेत स्पष्ट पारे। महासेठले भने,“भारमा सोनिया गान्धी अत्यधिक बहुमतका साथ आउनुभएको थियो, तर उहाँलाई भारतको प्रधानमन्त्री किन बनाईएन ? उहाँलाई संविधानले त प्रधानमन्त्री बन्न रोकेको थिएन नि ?”

भारतमा सोनिया गान्धीलाई प्रधानमन्त्री बनाउनु हुँदैन भनेर अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा बढि विरोध गरेको समेत स्मरण गरे। उनले थपे,“त्यतिवेला मैले उहाँको अन्र्तवार्ता हेरेको थिएँ, मोदीले भन्नुभएको थियो कि राजिव गान्धीको श्रीमती भएको नाताले सम्मान र सद्भाव गर्न सकिन्छ तर भारतको प्रधानमन्त्री बनाउन सकिँदैन भन्नुभएको थियो।”

संविधान संशोधन विना मधेशमा चुनाव हुन नदिने भनेर मोर्चाका नेताहरुले चेतावनी दिएका छन नि भन्ने धमलाको प्रश्नमा नेता महासेठले भने,“अरु कसैले भन्दैमा वा मोर्चाका नेताहरुले भन्दैमा मधेशमा चुनाव नहुने हो र? मधेशी जनता अब मोर्चाका नेताहरुसँग सति जान सक्दैनन्, मधेशी जनताले अहिले चुनाव चाहेका छन्।” कसैले मधेशमा चुनाव हुन दिन्नौं भन्दैमा चुनाव कसैले रोक्न नसक्ने समेत उनले चूनौति दिए।

महासेठले संविधान संशोधन र निर्वाचनको कुनैपनि अन्तरसम्बन्ध नरहेको समेत जिकिर गरे। उनले अघि थपे,“संविधान संशोधन एउटा कुरा हो, चुनाव अर्के कुरा हो, यसमा कुनै अन्तरसम्बन्ध छैन।” संविधान कार्यान्वयन गर्ने बेला संशोधनको बखेडा झिक्ने काम अहिलेको सरकारले गरिरहेको उनको गुनासो थियो।

आफ्नो पार्टीलाई मधेश विरोधी भन्नेहरुले हिम्मत भए चुनाव गरेर प्रतिष्पर्धामा उत्रिएर देखाउन समेत उनले खुल्ला चूनौति दिए। महासेठले भने,“हाम्रो पार्टी मधेश विरोधी पार्टी होईन, कसरी यस्तो आरोप लगाईयो ? मलाई त अचम्म लागेको छ।” उनले एमालेलाई मधेश विरोधी पार्टी भन्नेहरुलाई विगतको चुनावमा एमालेको मधेश हैसियत हेर्न समेत आग्रह गरे।

महासेठले आफ्नो पार्टीको जन्म नै मधेशमा भएको दाबी गरे। संविधान संशोधन प्रस्ताव पारित गराउन एमालेले पनि त लचकता देखाउनुपर्यो नि भन्ने धमलाको प्रश्नमा उनले भने,“हामीले अहिलेका प्रधानमन्त्री प्रचण्डजीलाई पटक पटक यो प्रस्ताव राष्ट्रिय हितमा छैन, यसलाई परिमार्जन गर्नुहुन्छ भने हामी सहयोग गर्न तयार छौं, तर यही अवस्थामा हामी कुनैपनि हालतमा पनि छलफल गर्न दिँदैनौं।”

उनले अहिले संसदमा दर्ता भएको संशोधन प्रस्ताव राष्ट्रिय हितको विपरित भएकोले यसलाई कुनै हालतमापनि छलफल गर्न नदिने चेतावनी दिँदै प्रश्न गरे,“प्रस्तावमा छलफल गर्न दिएन भनेर एमालेलाई अलोकतान्त्रिक पार्टी कसैले भन्छ भने त्यो मुर्खता हो, भोलि कसैले मधेशलाई अलग गर्नुपर्छ भनेर प्रस्ताव ल्यायो भने के छलफल गर्न दिने ? भोलि कसैले देश विखण्डन गर्ने प्रस्ताव गर्यो भने छलफल गर्न दिन ? म प्रश्न गर्न चाहन्छु।”

उनले आफ्नो पार्टी नेकपा एमाले यो मुलुकमा रहुञ्जेलसम्म देश टुक्र्याउने सपना कसैले पनि नदेखे हुन्छ भन्दै चेतावनी दिए। नेता महासेठले नेपालको त्रिभुवन विमानस्थलमा आईएफएसओको नाममा भारतीय सरक्षाकर्मी एयर मार्सल बस्नु गलत भएको समेत टिप्पणी गरे।

Post Comment