भक्तपुर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागी आत्महत्याको बाटोमा सरकार अग्रसर भइरहेको आरोप लगाएका छन् ।
पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको बताए ।
सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामिरहेको बताउँदै उनले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताए । निर्वाचनको हल्ला गरेर निर्वाचन नगर्नको निम्ति हल्ला चलाएको हो भने त्यो गलत हुने बताए । सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचित्य समाप्त हुने उनले बताए ।
निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्तामात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने उनले बताए ।
नेपालका मूख्य राजनीति शत्तिहरु एक भएर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले विपक्षी राजनीतिक दलहरु सबैभन्दा छिटो संविधान कार्यान्वयनको मुल कटी निर्वाचनमा प्रवेश गर्न चाहँदा पनि सरकार भने निर्वाचन गर्न आलटाल गरिरहेको आरोप लगाए । सरकारमा गएपछि सरकारको तागतले चुनाव जित्छु भनेर सरकारमा लालहित हुने गरेको विगतको अवस्था ठिक उल्टो भएको छ, उनले भने, ‘सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको छ ।’