काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज शनिबार विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेटबार्ता गरेका छन् ।
भेटका क्रममा उनले अहिलेको राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर संयोजक भट्टराईले संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुनर्संरचना र निर्वाचनबारेको गतिरोध चाँडो अन्त्य गर्न आग्रह गर्नुभएको हो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले सबै कुरा टुंग्याउन खोजे पनि केही जटीलताहरुले गर्दा आफू अप्ठेरोमा परेको बताउनुभयो ।
संयोजक भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै मुआब्जा बढाउन गरेको मागका बारेमा पनि सम्बोधन गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्ति पार्टी, नेपालका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइनले आमरण अनशन बसेको आज १०औं दिन भइसक्दा पनि राज्यपक्षबाट बेवास्ता भएकोले उहाँहरुका माग छिटो सम्बोधन गर्न पनि संयोजक भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयो ।