काठमाडौं । सद्भावना पार्टीले आफ्नो छटौँ राष्ट्रिय महाधिवेशन जेठको पहिलोसाता वीरगञ्जमा गर्ने निर्णय गरेको छ ।
वीरगञ्जमा दुईदिनदेखि जारी राष्ट्रिय कार्यसमितिको बैठकले २०७४ साल जेठ १, २ र ३ गते छैटौँ राष्ट्रिय महाविधेशन गर्ने निर्णय गरेको महासचिव मनीषकुमार सुमनले जानकारी दिए । उनले भने, ‘पार्टीको महाधिवेशन वीरगञ्जमा जेठको १, २ र ३ गते गर्ने निर्णय भएको छ । अब महाधिवेशनको धमाधम तयारी हुन्छ ।’
बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा एमालेप्रति अलिक धेरै तिक्तता पोखिएको छ । महाचिव सुमनले भने, ‘कांग्रेस, एमाले र माओवादी तीन भाइ हुन् । यी तीन पार्टीले मधेसी जनताको अधिकारका लागि खासै ध्यान दिएका छैनन् । विशेष गरेर एमालेले मधेसमा धेरै तिक्तता देखाएको छ ।’
एमालेले बेलाबेलामा मधेसी जनतालाई होच्याउने गरेर सार्वजनिक अभिव्यक्ति दिने गरेको तथा आफ्ना डकुमेन्टमा पनि मधेसी जनतालाई अधिकार दिने गरेर कुनै निर्णय नगरेको आरोप सद्भावना पार्टीले लगाएको छ ।
संविधान संशोधनपछि मात्रै चुनाव हुने र स्थानीय तह पुनर्संरचनाको प्रतिवेदनलाई नमान्ने सद्भावनाले निर्णय गरेको छ । चुनावका लागि वातावरण बनाउन माग गरेको जानकारी दिँदै महासचिव सुमनले भने, ‘संविधान संशोधन गर्नुपर्छ । त्यसपछि चुनावमा जानुपर्छ । होइन भने सद्भावना पार्टी चुनावमा जाँदैन । मधेसमा चुनाव हुन पनि दिँदैन ।’