काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा केही सञ्चारमाध्यमले आफ्नो नामलाई जोडेर समाचार प्रकाशित गरेकामा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उहाँले एक विज्ञप्तिमार्फत त्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पार्नुभएको छ ।
“कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु,” सभापति देउवाका तर्फबाट उहाँका सहयोगी केशवराज जोशीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
चन्दलाई आइजीपी बनाउन देउवाको भूमिका रहेको भनेर समाचार सम्प्रेषण भएपनि उनले अपराह्न विज्ञप्ति निकालेका हुन् । सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।