देउवाले प्रचण्डलाई भने:-‘सरकार हामी चलाउने,ओलीका मान्छेलाई किन प्रहरी सुम्पने ?’

राजनीति

काठमाण्डु, २ फागुन– काँग्रेस सभापति शेरबहादुर देउवाले डिआईजी नवराज सिलवाललाई निमित्त प्रहरी प्रमुख बन्नसमेत रोकेका छन् । सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिलवाललाई निमित्त नदिन दबाब दिएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड वरिष्ठताका आधारमा सिलवाललाई निमित्त प्रमुखको जिम्मेवारी दिन चाहन्थे ।
तर, देउवाले सिलवाल कुनै हालतमा नहुने अडान लिएपछि मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले प्रहरी नियमावली संशोधन गर्दै प्राविधिक तर्फका अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको हो । देउवाले नै यसअघि सिलवाललाई प्रहरी प्रमुख हुनबाट रोकेका थिए ।
उनले पहिलो वरियताका सिलवाल र दोश्रो वरियताका प्रकाश अर्याललाई छाडेर तेश्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधिलाई दबाब दिएका थिए । चन्द महानिरीक्षक नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको धम्की उनले प्रधानमन्त्रीलाई दिएका थिए । देउवाकै दबाबमा सरकारले आइतबार वरिष्ठता मिचेर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
तर, चन्दलाई आईजी नबनाउन माग गर्दै शुक्रबार परेको रिट निवेदनमाििथ सुनुवाई गर्दै सर्वोच्च अदालतले आइतबारै चन्दलाई महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । बालुवाटार उच्च स्रोतका अनुसार अदालतको अर्को आदेश नआउँदासम्मका लागि प्रधानमन्त्रीले सिलवाललाई निमित्त दिन चाहेका थिए ।
तर, सिलवालको एमाले अध्यक्ष केपी ओलीसँग ‘कनेक्सन’ रहेको भन्दै देउवाले उनको नामै सुन्न नचाहेको स्रोतले बतायो । सिलवालको साटो प्रकाश अर्याल वा बमबहादुर भण्डारीलाई निमित्त दिन सकिने विकल्प देउवाले सुझाएका थिए ।
‘सिलवाल केपी ओलीका मानिस हुन’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकार हामी चलाउने, ओलीका मान्छेलाई किन प्रहरी सुम्पने ?’

Post Comment