राष्ट्रिय जनसङ्ख्या परिषदमा सातजना विज्ञ सदस्यलाई नियुक्त

राजनीति

काठमाडौँ । सरकारले राष्ट्रिय जनसङ्ख्या परिषदमा सातजना विज्ञ सदस्यलाई नियुक्ति गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न परिषद्को पहिलो बैठकले जनसङ्ख्यासम्बन्धी तथ्याङ्कलाई व्यवस्थित गर्न उहाँहरुलाई नियुक्त गरिएको हो ।

नियुक्त हुनुहुने विज्ञ सदस्यमा प्रा डा योगेन्द्रबहादुर गुरुङ, प्रा डा रामशरण पाठक, रोशना कार्की, डा गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा पुनमलाल कर्ण हुनुहुन्छ ।

बैठकले जनसङ्ख्यासम्बन्धी सम्पूर्ण तथ्याङ्कलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थित र आधुनिक जीवनपद्दतिका लागि जनसङ्ख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “जनसङ्ख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवनपद्दति कायम गर्न सकिन्छ । सङ्घीय संरचनाअनुसार जनसङ्ख्याको अभिलेखन र विद्युतीय अभिलेखीकरणमार्फत यसमा आधुनिक अभिलेखको व्यवस्था गरिनेछ ।”

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीको उपस्थिति थियो ।

Post Comment