काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय निर्वाचनका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग वार्ता गरेका छन् ।
आफ्नै सरकारी निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री दाहालले दुई शीर्ष नेता देउवा र ओलीसँग निर्वाचनको मितिका विषयमा परामर्श गरेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘निर्वाचनको मिति र मधेसी मोर्चालाई पनि कसरी साथमा लिन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।’
मधेसी मोर्चाको मागअनुसार संसदमा अड्किएको संविधान संशोधन विधेयकलाई के ? कसरी अगाडि बढाउन सकिन्छ ? भन्ने विषयमा तीन शीर्ष नेताहरूबीच सम्वाद भए पनि ठोस सहमति हुन नसकेको बुझिएको छ ।
यसअघि मंगलबार राति पनि प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष ओलीबीच बालुवाटारमा गम्भीर वार्ता भएको थियो । वार्तामा स्थानीय चुनावको मिति घोषणा गरेर जाने तथा मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउने सहमति भएको थियो ।