काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन आफूले हेर्न नपाएको भन्दै त्यसमा राखिएका सीमाङ्कनको प्रावधान संघीयताको मर्म विपरित रहेको जनाएको छ ।
स्थानीय विकास मन्त्रीको संयोजकत्वमा रहेको कार्यदलसँग आज सिंहदरबारमा भएको बैठकमा मधेसी मोर्चाका नेताहरूले स्थानीय तहको सीमाङ्कन मधेसी जनताले कुनै पनि हालतमा नमान्ने जनाएको हो । ‘स्थानीय तहको सीमाङ्कन मधेसी जनताले मात्रै होइन पहाड र हिमालमा बस्नेहरूले पनि बिरोध गरिरहेका छन्’, बैठकका भएको छलफलबारेमा जानकारी दिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष बृखेषचन्द्र लालले भने, ‘स्थानीय तह पुनर्संरचनाको प्रतिवेदनमा के के विषय छ हामीलाई थाहा छैन ।’
मधेसी मोर्चाका दोस्रो तहका नेताहरूको उपस्थिति रहेको सो बैठकमा उनीहरूले जनसंख्या र संघीयताको मर्मअनुसार सीमाङ्कनको प्रस्ताव ल्याउनुपर्ने बताएका थिए । उनीहरूले सीमाङ्कनको विषयमा राजनीतिक रहेकाले शीर्ष तहमा छलफल गर्न पनि सुझाव दिएको तमलोपाका सहअध्यक्ष लालले बताए ।
मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोध गर्दै आएको छ । उसले अहिलेकै सीमाङ्कनलाई कदापि नमान्ने जनाइरहेको छ ।