काठमाडौं । मंगलवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको मिति घोषणालाई नै लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवालाई र्याखर्याख्ती पारे । चुनावको मिति घोषणा गर्ने आश्वासन दिंदै आएका प्रधानमन्त्री दाहाललाई ओलीको बारम्बार प्रश्न थियो– ‘चुनाव नभए देशमा के हुन्छ थाहा छ ?’
बैठक स्रोतका अनुसार संवादका क्रममा प्रधानमन्त्री दाहालले चुनावको मिति तय गर्न आफूले धेरै पर नलैजाने वताउँदै एउटा अर्थपूर्ण कुरा पनि खुस्काए । ‘ प्रकाशजी (नारायणकाजी श्रेष्ठ) आउनुहुन्छ, उहाँसँग एकसरो छलफल गर्नु पर्ने छ, त्यसपछि चुनाव घोषणा हुन्छ’ दाहालको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो । प्रधानमन्त्री दाहालले भारत भ्रमणमा रहेका आफ्नो पार्टीका नेता श्रेष्ठले ल्याउने सन्देश सुनेपछि मात्रै चुनाव घोषणा गर्ने संकेत गरेका थिए ।
कांग्रेस सभापति देउवाले भने मधेसी मोर्चा संविधान संशोधन बिना चुनावमा नआउने र मोर्चा नआएसम्म चुनाव नहुने वताए । ओलीले भने संविधान कार्यान्वयन गर्न आगामी माघसम्म तीनै तहको चुनाव गरिसक्नु पर्ने बेला मोर्चाका नाममा कहिलेसम्म पर्खने भनी प्रश्न उठाए ।
बैठकमा प्रधानमन्त्री दाहालको प्रस्तुतीले एउटा नयाँ कुराको संकेत गरेको छ । अहिले चुनाव गर्ने भारतीय पक्षको एजेण्डा होइन । चुनाव घोषणा गरे भारत रिसाउने भएकाले सकेसम्म चुनावका पक्षमा उसलाई कन्भिन्स गरेर मात्र चुनाव घोषणा गर्न सकिने दाहालको प्रयास देखिएको छ । त्यसैका लागि दाहालले पार्टी नेता श्रेष्ठलाई दिल्ली पठाएको बुझिएको छ ।
संविधानसभाले संविधान जारी गर्नुअघि त्यसलाई रोक्न भारतले आफ्ना विदेश सचिव एस जयशंकरलाई विशेष दूत नै बनाएर पठाएको थियो । जयशंकरले संविधान रोक्न भरमग्दुर प्रयास गरे, नेताहरुलाई थर्काउने र धम्क्याउने काम पनि बाँकी राखेनन् । त्यसका बावजुद पनि तीन पार्टी मिलेकाले संविधान जारी भयो अनि भारतले नाकाबन्दी लगायो । त्यसयता सत्ता परिवर्तन देखि दाहाल–देउवा गठबन्धन निर्माणका विषयमा भारतले गरेका सबै खेलोफड्कोको एउटै उद्धेश्य संविधान कार्यान्वयन गर्न नदिने, संशोधनका नाममा अल्झाइरहने भन्ने नै हो । त्यसैले अहिले संविधान संशोधन थाती राखेर चुनावमा गए भारतले हारेको स्पष्ट सन्देश जाने भएकाले प्रधानमन्त्री दाहालले सोचेर कदम चाल्ने प्रयास गरेका हुन् ।
यदि नारायणकाजी फर्केपछि पनि एमालेको जोडबलमा चुनाव घोषणा गरे भारतको उद्धेश्यसँग दाहालको बाटो केही फरक हुन्छ । बाटो फरक भएपछि भारतले देउवालाई प्रयोग गरेर आफ्नो सरकार ढालिदेला भन्ने डर दाहालमा छ । त्यही डरले दाहालले चुनाव घोषणा गर्न आलटाल गरेको बुझ्न कठीन छैन । अर्काेतिर चुनाव घोषणा भए बजेटको समय एकै पटक हुने भएकाले दाहालले पूर्व सहमति अनुसार आफूलाई सत्ता हस्तान्तरण गर्लान् कि नगर्लान् भन्ने आशंकामा सत्तारुढ कांग्रेस छ ।
दिल्ली गएका माओवादी नेता नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिमा हस्तक्षेप नगर्न खरो खरो कुरा गरिरहेको उनी निकटका सञ्चार माध्यमले प्रचारमा ल्याइरहेका छन् । भारतको उक्साहटमा लागेर पूर्ववर्ती सरकार ढाल्न नहुने पक्षमा उहिल्यै रहेका श्रेष्ठले प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष लम्पसार परे पनि ओली सरकारकै लाइनमा कुरा राख्दै आइरहेका थिए । चीनसँग नेपालले गरेका सम्झौताको हैसियत कमजोर बनाउने उद्धेश्यले गठित सरकारको नेतृत्व आफ्ना पार्टी अध्यक्षले गर्ने तर, श्रेष्ठ भने चीनसँगको पारवहन सन्धी नेपालको अधिकारका रुपमा ब्यख्या गर्ने गर्छन् । नेपालमा आम जनमत पनि जबर्जस्त रुपमा नेपाल र चीनबीच पछिल्लो पटक भएको सम्झौतालाई विकास गर्दै आत्मनिर्भर बन्नु पर्ने र भारतले नाकाबन्दी लगाएर नेपालमाथि नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नु पर्ने पक्षमा छ । त्यसैले माओवादी नेता श्रेष्ठ पार्टीले गुमाएको जनमत फर्काउन पनि अहिले भारत मामिलामा पार्टी अध्यक्षको लाइन भन्दा बेग्लै कडा कुरा गरिरहेका छन् ।
माओवादी सम्बद्ध स्रोतका अनुसार चुनाव घोषणा गर्दा दिल्लीले संविधान संशोधनको आफ्नो एजेण्डा पराजित भएको ठान्ने र त्यसै कारण सरकार ढल्ने स्थिति नआओस् भन्नेमा प्रधानमन्त्री दाहाल छन् । दिल्ली भ्रमणमा रहेका नेता नारायणकाजी श्रेष्ठ फर्केपछि मात्रै चुनाव मिति टुंगो गर्ने दाहालको भनाईले पनि त्यही संकेत गर्छ ।