काठमाडौँ । सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर आज (शनिबार) निर्वाचन मिति घोषणाको तयारी गरेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन मिति घोषणाको तयारी गरेका हुन् । निर्वाचन घोषणाअघि प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई बालुवाटार बोलाएका छन् ।
मोर्चा नेतासँगको परामर्शपछि निर्वाचन घोषणा गर्ने मनस्थितिमा प्रधानमन्त्री छन् । केही दिनअघि काँग्रेस, एमाले र माओवादी शीर्ष नेताबीच बालुवाटारमा भएको बैठकमा तत्काल निर्वाचन मिति घोषणा गरेर जाने सहमति भएको थियो । प्रधानमन्त्रीले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा शनिबार निर्वाचन मिति घोषणा हुने जानकारी दिएका थिए ।
‘प्रधानमन्त्रीले प्रजातन्त्र दिवसको अवसरमा आज निर्वाचन मिति घोषणा हुन्छ भन्नुभएको छ’, एक निर्वाचन आयुक्तले भने ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जेठ १ र २१ को मिति उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । प्रधानमन्त्रीले भने केही दिन यताउता हुनसक्ने बताएका छन् ।