काँग्रेस र माओवादी बिच निर्वाचन घोषणा गर्ने सहमति

काँग्रेस र माओवादी बिच निर्वाचन घोषणा गर्ने सहमति
राजनीति

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच निर्वाचनको मिति घोषणा गर्नेबारे सहमति भएको छ।

आईतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा निर्वाचनको मिति घोषणा गर्न अब ढिलाई गर्न नहुने भन्दै चाँडो भन्दा चाँडो मिति घोषणा गर्ने सहमति भएको हो।

बैठकमा सहभागी काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले निर्वाचनको मिति घोषणा गर्नेबारे सहमति भएको जानकारी दिए। उनले भने,“अब निर्वाचनको मिति घोषणा हुन्छ, आजै हामी स्थानीय तह पूर्नसंरचना आयोगसँग छलफल गर्छों।”

त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पहिला निर्वाचनको मिति घोषणा हुने जनाए। उनले थपे,“पहिला निर्वाचनको मिति घोषणा हुन्छ, अनिमात्रै संविधान संशोधन प्रस्ताव अघि बढ्छ।”

सरकारले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चासँग पनि छलफल गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार मधेशी मोर्चासँग निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल गरेका थिए। मोर्चाका नेताहरुले निर्वाचनको मिति घोषणा भए कडा प्रतिकारमा उत्रिने चेतावनी दिएको भोलिपल्टै आज प्रमुद सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव लगायत उपस्थित थिए।

बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा लगायत राजनीतिक दलहरुसँग भएको सम्वाद र सहमतिको प्रयासबारे छलफल भएको एक नेताले जनाए।

Post Comment