काठमाडौं । आफ्ना मागहरु सम्बोधन नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाले तराईमा आन्दोलन थालेको छ ।
मंगलबार विहान पर्साको वीरगञ्जस्थित घण्टाघर चोकमा मोर्चाका कार्यकर्ताले विरोध प्रर्दशन गर्दै आन्दोलनको सुरुवात गरेका हुन् ।
सद्धभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितीमा सुरु गरिएको आन्दोलनको पहिलो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाइएको छ । पुत्ला दहनसँगै मोर्चाका कार्यकर्ताले प्रचण्डलाई ‘दलाल’को संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस गरेका थिए ।
सद्धभावना महासचिव मनीष सूमनका अनुसार आन्दोलनको उद्घाटन गर्न महतो काठमाडौंबाट मंगलबार विहानै वीरगञ्ज पुगेका थिए ।
त्यसैगरी मोर्चाका कार्यकर्ताले तराईका हाट बजार र सदरमुकाममा मसाल जुलुस निकालिरहेका छन् ।
संविधान संशोधनमार्फत पहिला मधेसका मागहरु सम्बोधन हुनुपर्ने अडान राख्दै मोर्चा सरकारले संशोधनअगावै निर्वाचन मिति घोषणा गरेपछि आन्दोलनमा उत्रिएको हो ।
आन्दोलनअन्तर्गत मोर्चाले बुधबार तराई बन्द र विहीवारदेखि १५ दिनसम्म गाउँ, नगर र सदरमुकाममा भण्डाफोर कार्यक्रम गर्नेछ ।