प्रचण्डको प्रस्ताव ओलीले ठाडै अस्विकार गरे

राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनमा सहयोग गर्न गरेको आग्रह एमालेले ठाडै अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीले मंगलबार आफ्नै आह्वानमा नयाँबानेश्वरमा डाकेको सर्वदलीय बैठकमा प्रमुख विपक्षी एमालेलाई मधेसी मोर्चालाई समेत साथमा लिएर निर्वाचन सफल पार्न संविधान संशोधनमा सघाउन आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको उक्त प्रस्ताव सुन्नै नचाहेको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव स्वीकार्य नहरेको बताए । यद्यपि निर्वाचन घोषणाको आफ्नो दलले स्वागत गरेको बताए । ‘हामी संशोधनको पक्षमा छैनौं’, ओलीले भने, ‘निर्वाचन घोषणाको भने हामीले स्वागत गरेका छौं ।’ प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र निर्वाचन सँगै अघि बढाइने बताए । उनले बैठकमा सबैले निर्वाचन घोषणाको स्वागत गरेको जनाए ।
‘संविधान संशोधन पनि हुन्छ, चुनाव पनि हुन्छ’, प्रधानमन्त्रीले भने । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बैठकमा सहभागी सबै दलका नेताले निर्वाचन घोषणाको स्वागत गरेको बताए । उनले संविधान संशोधन र निर्वाचन दुवै हुने दाबी गरे ।
राप्रपा अध्यक्ष कमल थापाले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्यवनमा सबैले सरकारको ध्यानाकर्षण गराइएको बताए । उनले संशोधन विधेयकबारे मधेसी मोर्चासँग परामर्श गर्नुपर्ने विचार राखे । उनले पनि निर्वाचन घोषणाको स्वागत गरे । मन्त्रिपरिषदको सोमबारको बैठकले ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको थियो ।

Post Comment