स्थानीय तहको चुनाव घोषणाका विरुद्ध ‘आन्दोलन’ घोषणा गरेको मधेसी मोर्चाले उपेन्द्र यादव दिल्लीबाट फर्केपछि मात्रै चुनावको विरोधलाई कसरी अगाडि बढाउने रणनीति बनाउने भएको छ ।
सरकारले स्थानीय चुनावको मिति घोषणा गर्ने थाहा पाएपछि त्यसको अघिल्लै दिन दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव त्यस सम्बन्धी आवश्यक रणनीति बनाउन दिल्ली गएका थिए । मधेसको नाममा आन्दोलन गर्ने भनिए पनि मधेसी जनता आन्दोलनको विपक्षमा देखिएकाले अव चुनावमा भाग लिने वा चुनाव हुन नदिन जस्तोसुकै हथकण्डा अपनाउने वा के गर्ने भन्ने टुंगोमा मोर्चा पुग्न सकेको छैन ।
मंगलवार मोर्चाको बैठक बसे पनि दिल्लीले योजना नपठाउन्जेल के गर्ने भन्नेमा उनीहरुबीच अन्यौलता देखिएकोले बैठक विना निश्कर्ष टुंगिएको थियो । दिल्लीबाट सन्देश नआउन्जेल बैठक बसे पनि के गर्ने भन्ने टुंगो नलाग्ने भएकाले मंगलवार दिउसो १ बजेदेखि २ घन्टासम्म बसेको बैठकले केही निर्णय नगरेको हो ।
बैठकमा उपेन्द्र यादव दिल्लीमै भएकाले उपस्थित हुने कुरै भएन । दिल्लीबाट योजना नआउन्जेल बैठक बसेर पनि केही नहुने भएकाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि बैठकमा गएनन् । बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, नेता हृदयश त्रिपाठी, सद्भावनाका नेता लक्ष्मणलाल कर्ण, र संघीय समाजवादी फोरमका नेता अशोक राई, राजकिशोर यादव र केशव झा लगायतका मोर्चाका नेताहरु सहभागि थिए । उपेन्द्र यादव दिल्लीबाट नफर्केसम्म के गर्ने भन्ने टुंगो नलागेका कारण मोर्चाले यसअघि घोषणा गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने वताइएको छ ।
चुनाव घोषणापछि मधेसी मोर्चाका नेताहरु अवधी सकिएर विदाई हुन लागेका भारतीय राजदूत रन्जित रेको सम्मानमा कार्यक्रम गर्न ब्यस्त छन् । रेको विदाईका अवसरमा उनलाई सम्मान गर्ने कार्यक्रम राख्न मोर्चा आवद्ध दलहरु प्रतिस्पर्धामा उत्रेको आजको जनआस्था साप्ताहिकले समाचार छापेको छ । जमलस्थित एल्लो प्यागोडा हाटेलमा तमलोपा नेतृ चन्दा चौधरीले रेको सम्मानमा मंगलवार कार्यक्रम आयोजना गरेकी थिइन् । आज त्यही होटेलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय राजदूत रेलाई सम्मान गर्ने कार्यक्रम राखेका छन् ।
महतोले रेको सम्मानमा आयोजित कार्यक्रममा उपस्थित हुन हिन्दी भाषामै लेखेर पठाएको निमन्त्रणा पत्रमा उल्लेख छ– ‘नेपालमें भारत के महामहिम राजदूत मा. रंजीत रेजी के विदाई तथा सम्मान मे आपकी गरिमामय उपस्थिति के लिए हार्दिक अनुरोध करता हुँ ।’