काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एमालेले संविधान संशोधनको विधेयकमा सहयोग गर्ने दाबी गरेका छन् ।
गृहमन्त्री निधिले भने, ‘एमालेले पनि संशोधन विधेयकमा मतदान गर्छ । मलाई विश्वास छ । होइन भने एमालेलाई जनताले चिन्छन् ।’
उनले भने, ‘एमालेले संविधान संशोधन विधेयक दर्ता गर्न पनि दिँदैन भन्यो । टेबुल हुन दिन्न पनि भनेको थियो । तर, दियो त ! अब समर्थन पनि गर्छ । छलफल पनि गर्न दिएको छ ।’
गृहमन्त्री निधिले एमालेले संशोधन विधेयकमा अवरोध गरे उसको राष्ट्रघाती चरित्र बाहिर आउने आरोप लगाए । उनले भने, ‘संशोधन विधेयक पारित गर्न दिएन भने एमाले पार्टी पक्का ‘राष्ट्रघाती’ हो । एमालेका काम देशको हितमा छैन ।’
संशोधन विधेयकमा सीमाङ्कन बाहेकका विषय परिमार्जन हुने निधिले बताए । ‘संशोधनमा रहेको सीमाङ्कनको कुरा हेरफेर हुँदैन’, उनले भने, ‘भाषा र नागरिकतामा संशोधन हुन्छ । मधेसी मोर्चाले भनेअनुसार परिमार्जन गर्ने छौँ ।’
गृहमन्त्री निधिले नागरिकको प्रावधान अझै सजिलो हुने गरेर राखिने बताए । हिन्दी भाषालाई पनि बोलिचालिको भाषाका रुपमा मान्यता दिइने उनको दाबी थियो ।
मधेसी मोर्चाले स्थानीय निर्वाचनको मिति खारेज गर्न माग गरेका छन् नि ? भन्ने प्रश्नमा गृहमन्त्री निधिले भने, ‘मधेसी मोर्चा चुनावमा जान्छ । मैले सबै नेतासँग कुरा गरेको छु ।’
कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार शेरबहादुर देउवा छिट्टै प्रधानमन्त्री बन्ने उनको भनाइ थियो । निधिले भने, ‘स्थानीय चुनाव प्रचण्डले गर्ने हो । त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।’
कांग्रेसको पदाधिकारी नियुक्ति तपाईका कारण अलपत्र परेको छ रे नि ? भन्ने प्रश्नमा निधिले भने, ‘यो विषयमा म बोल्न चाहँदिन । पार्टीको विषयमा मेरो ध्यान गएको छैन । निर्वाचन र संविधान संशोधनमा मात्रै मेरो ध्यान छ ।’
‘एमाले पार्टी पक्का ‘राष्ट्रघाती’ हो,एमालेका काम देशको हितमा छैन ’:-गृहमन्त्री निधि
![‘एमाले पार्टी पक्का ‘राष्ट्रघाती’ हो,एमालेका काम देशको हितमा छैन ’:-गृहमन्त्री निधि](https://usnepalnews.net/wp-content/uploads/2017/01/nidhi-bimalendra-e1528028345167.jpg)